रुपन्देहीमा रहेका अर्घाखाँचीको छत्रगञ्जका बासिन्दाले प्रतिनिधि सभा सदस्यहरुलाई बाँदर र बँदेल अंकित मायाको चिनो दिएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा रास्वपाबाट निर्वाचित हरिप्रसाद भुसाल र अर्घाखाँचीमा जन्मे हुर्केकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाललाई बाँदर र बँदेलले हैरानी पुर्याएको भन्दै मायाको चिनोस्वरुप प्रदान गरिएको बधाईपत्रमा उल्लेख गरिएको छ ।
बधाई पत्रमा बाँदर र बँदेलका कारण खेतीबालीमा भइरहेको क्षतिबाट चिन्तित र प्रभावित भएको अवस्थालाई चित्रित गरिएको छ ।
अर्घाखाँचीमा बाँदर र बँदेलले हैरानी पुर्याएकाले सांसदहरुको ध्यानाकर्षण गराउने उदेश्यका साथ मायाको चिनोका रुपमा प्रदान गरिएको बधाईपत्रमा सांकेतिक रुपमा समस्याको जानकारी गराएको समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिए ।

उनले जननिर्वाचित सांसदहरुले जनताका समस्यालाई सम्झिरहुन् भन्ने उद्देश्यका साथ बधाईपत्रमै उल्लेख गरेर प्रदान गरेको बताए ।
‘उहाँहरुलाई दिइएको मायाको चिनो स्वरुपको बधाई पत्रमा बाँदर र बँदेलका कारण भोग्दै आएको समस्या र अरु समस्याहरु समेत समेटेर सांकेतिक तस्वीर राखेर दिएका छौँ,’ उनले भने, ‘यो मायाको चिनो उहाँहरुले आफ्नो घरमा भित्तामा राख्नुभयो भने जनताका समस्यालाई सधै सम्झिइरहनुहुनेछ भन्ने हाम्रो उदेश्य हो ।’
