भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिताको ‘बी’ डिभिजन अन्तर्गत मंगलबार भएको खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ। देवदहले सैनामैना क्रिकेट क्लबलाई ७ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको देवदहले ३३.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनायो। टोलीका लागि रोशन गौतमले ३२ रन, कृष्ण कार्कीले २८ रन र सुमन पाण्डेले १२ रनको योगदान दिए। विपक्षी टोलीका किरण भट्टराई उत्कृष्ट बलिङ गर्दै ९.३ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। साथै, योभ यादव, सुनिल पौडेल र निश्चल क्षेत्रीले समान १–१ विकेट लिए।
१२१ रनको लक्ष्य पछ्याएको सैनामैना ३२ ओभरमै अलआउट हुँदै ११३ रनमा सीमित भयो। उसका लागि सुनिल पौडेलले ३१ रन, सुशान्त क्षेत्रीले २३ रन, किरण भट्टराईले १८ रन र निश्चल क्षेत्रीले ११ रन बनाए। देवदहका रोशन गौतमले उत्कृष्ट प्रदर्शन गर्दै ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, कृष्ण पराजुलीले ३ विकेट तथा शशिधर टण्डन र विष्णु कटरियाले १–१ विकेट लिए।
उत्कृष्ट प्रदर्शनका लागि रोशन गौतम ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले १,२०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा विजेता टोलीले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै, ‘म्यान अफ द सिरिज’ लाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर, बलर र उदयीमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।