भारतको उत्तर प्रदेशको रामपुर जिल्लामा एक अधिवक्ताको दिनदहाडै गोली हानी हत्या गरिएको घटना सार्वजनिक भएको छ। उक्त घटना जिल्ला पंचायत कार्यालयभित्र भएको हो, जसको CCTV फुटेज समेत बाहिर आएको छ।
जिल्ला पंचायत कार्यालयभित्र भएको विवाद हिंसात्मक बनेपछि ४५ वर्षीय अधिवक्ता मोहम्मद फारुखमाथि गोली प्रहार गरिएको हो।
जानकारी अनुसार, फारुखकी श्रीमती र कार्यालयका क्लर्क असगर अली बीच सुरुवातमा विवाद भएको थियो। त्यसपछि श्रीमतीले आफ्ना श्रीमान् फारुखलाई कार्यालयमा बोलाएकी थिइन्।
कार्यालय पुगेपछि दुवै पक्षबीच झगडा चर्किँदै गएर हात हालाहालसम्म पुगेको थियो। झगडा बढ्दै जाँदा आरोपी असगर अलीले आफुसंग भएको पेस्तोल निकालेर फारुखमाथि गोली चलाएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका फारुखलाई अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि आरोपी असगर अलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।