केशव पराजुली, देवदह // रुपन्देहीको देवदहमा ३ दिने रामनवमी चैतेदशै मेला शुरु भएको छ । भगवान गौतम बुद्धको मावली स्थल भवानीपुरमा विगत लामो समयदेखि ऐतिहासिक रामनवमी मेला लाग्दै आएको छ । कोलिय बुद्धमावली क्षेत्र विकास समितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त मेला शुरु भएको हो ।
मेलालाई उद्घाटन गर्दैै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भवानीपुरमा लाग्दै आएको रामनवमी मेलाले टेवा पुरयाउने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएकी गुरुङ्गले रामनवमी मेलालाई व्यवस्थित गर्दैै लुम्विनी आउने पर्यटकलाई देवदहमा भित्रयाउने गरी नगरपालिकाले विभिन्न कार्यक्रम अगाडि सारेको बताउनु भयो । वहाले रामनवमी मेला देवदहको ऐतिहासिक मेला भएकोले यसको व्यवस्थापनमा सवैले हातेमालो गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
कोलिय बुद्धमावली क्षेत्र विकास समितिका अध्यक्ष अमरराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–४, का वडाअध्यक्ष दमननाथ रेग्मी, नेपाली काग्रेस नगर सभापति गुनाखर भुर्तेल, सञ्चारकर्मी भिमप्रसाद गुरुङ्ग, कोलिय बुद्धमावली क्षेत्र विकास समितिका उपाध्यक्ष चन्द्रप्रसाद पाण्डे लगायतले आ–आफना भनाई राखेका थिए ।
रामनवमी चैतेदशै मेला–२०८२ को उद्घाटन कार्यक्रममा भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महामाया भवानीपुर भजनर्कितन समुह प्रथम, श्रीकृष्ण भजनर्कितन समुह द्धितिय र चौतारी आमा समुह तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्धितिय हुनेले नगद ७ हजार र तृतिय हुनेले नगद ५ हजार प्राप्त गरेको छ । यसैगरी मेलामा ढकीया दौड प्रतियोगिता समेत सम्पन्न भएको छ । उक्त प्रतियोगितामा रिना थारु प्रथम, निशा थारु द्धितिय र लक्षु न्यौपाने तृतिय भएको छ ।