मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ ।
धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ ।
धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद खतिवडाको मृत्यु भएको हो ।
धनुषाको धनौजी गाउँपालिका–३ कटैया चोकस्थित सडकमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्किदा मोटरसाइकल चालक धनौजी गाउँपालिका–४ बस्ने २५ वर्षीय अंकित कुमार मण्डलको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, महोत्तरीको औरही नगरपालिका–३ श्रीपुरटोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ श्रीपुर बस्ने ३० वर्षीय रंजीत साहको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको जानकी एकेडेमी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीस्थित सडकमा कुण्डाचोकबाट बैजापुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ चिनावास बस्ने ३५ वर्षीय हरी राम थारूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी मेडिकल कलेज अफ साईन्सेज प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, रूपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित सडकमा पनि मोटरसाइकल र ट्रक एकआपसमा ठक्किदा आइतबार दिउँसो मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ कडदमहवा बस्ने २१ वर्षीय आशिष यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थितमा बसले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा बस्ने अन्दाजी ३५ वर्षीय राम कुमार कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै स्याङ्जाको गल्याङ नगरपालिका–९ साङलियास्थित सडकमा चापाकोटबाट गल्याङतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५४ वर्षीय ज्योतिलाल खनालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रिय समाचार कक्षले जनाएको छ ।