तीन दिनयता दक्षिणी कपिलवस्तुमा सुरू भएको दुई समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन ।
सोमबार पनि जिल्लाका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका छन् । प्रशासनले निषेधाज्ञा जारी राखेको छ ।
कपिलवस्तुको महाराजगन्जको वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा उत्पन्न विवादपछि आक्रोशित प्रदर्शनकारी र प्रहरी झडपमा शनिबार प्रहरीको गोलीबाट ४ जना घाइते भएका थिए । यसको विरोधमा प्रदर्शनमा उत्रिएका ३ जना सोमबार पक्राउ परेका हुन् । आइतबार पनि जिल्लाका विभिन्न स्थानमा भएका प्रदर्शनमा प्रहरीले कुटपिट गरेको उनीहरुको आरोप छ ।
त्यहाँस्थित पत्रकार नारद कोहारका अनुसार सोमबार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय हिन्दू परिषद् नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष विरेन्द्र चौधरी र विश्व हिन्दु परिषद नेपालका जिल्ला उपाध्यक्ष सुनिल तिवारी रहेका छन् ।
कपिलवस्तुका हिन्दू संगठनद्वारा आज आह्वान गरिएको बन्द र जिल्लामा देखिएको विषम परिस्थितिले कपिलवस्तु नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहेका छन् भने परीक्षाहरु पनि स्थगित गरिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले संयमतासाथ अघि बढनु पर्ने बेला समाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विज्ञप्ति जारी गर्दै असहमतिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने विकल्प हुँदाहुँदै नागरिकको जीवनलाई प्रत्यक्ष असर पुग्ने गरी बन्द हडताल, चक्काजाम जस्ता गतिविधि नगर्न आग्रह गरेको हो । साथै प्रशासनले सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति नदिन पनि अनुरोध गरेको छ ।
कपिलवस्तु घटनाका दोषीउपर कानुनी कारबाही प्रक्रिया सुरू भइसकेको र घटनाका घाइतेको उपचार भइरहेको बेला सामाजिक सञ्जालमार्फत बन्द गरिएको हल्लाप्रति प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
यता अन्तर धार्मिक सद्भाव संघ नेपालले कपिलवस्तुका महाराजगन्ज तथा बहादुरगन्ज लगायतका क्षेत्रमा हालै देखिएको धार्मिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष चन्दा थापाले सोमबार विज्ञप्ती जारी गर्दै सम्बन्धित पक्ष, स्थानीय समुदाय, सामाजिक अगुवा तथा सरोकारवाला सबैलाई संवाद र सहकार्यमार्फत समस्या समाधानतर्फ अघि बढ्न अनुरोध गर्दै स्थानीय प्रशासनलाई शान्ति–सुरक्षा कायम राख्न आवश्यक कदम चाल्न अनुरोध गरिएको छ ।
‘सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट तथा भ्रामक सूचना फैलाउने द्वन्द्व बढाउन उद्यत रहने कार्यबाट टाढा रहन सबैमा अपिल गर्दछौँ। यस्ता गतिविधिले परिस्थितिलाई झन् जटिल बनाउने भएकाले सबैले जिम्मेवार व्यवहार आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ,‘अन्तरधार्मिक सद्भाव संघ सबै समुदायबीच सद्भाव, सहअस्तित्व र शान्ति कायम राख्न प्रतिबद्ध रहेको छ, धर्म फरक भए पनि मानवीय मूल्य साझा हुन्छन् । ती मानवीय मूल्यहरुलाई जगेर्ना गर्दै समाजलाई शान्त राख्न र रहन सबैमा सादर निवेदन छ ।’