बुटवल। बुटवल – ९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीका शिक्षा उपसमिति संयोजक विष्णु पन्थको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
थापाले बोल्दै आफ्ना सेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिमले सहजीकरण हुने बताए । उनले पछिल्लो समय बजारमा सहकारीलाई हेर्ने दृष्टिकोण फरक भएको बताउँदै सबै सहकारी खराब नभएको र केही सहकारीले राम्रो काम गरेको समेत बताए । तालिममा जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका महासचिव दामोदर पंगेनीले प्रशिक्षण दिएका थिए । उनले सहकारी के हो ? सहकारीमा देखिएका समस्याहरु, सरकारले सहकारी सम्बन्धि बनाएका कानून र सहकारीले गरेका योगदानका बारेमा प्रशिक्षण दिएका थिए ।
तालिममा सहकारीका सल्लाहकारहरु कृष्णप्रसाद देवकोटा, पुरुषोत्तम आचार्य, सचिव नागेन्द्रराय यादव, कोषाध्यक्ष छबिलाल अर्याल, सञ्चालक समिति सदस्य उषा भट्टराईलगायत करिब ७० जना सेयर सदस्यहरुको सहभागिता रहेको सहकारीका व्यवस्थापक कमला भुर्तेलले जानकारी दिइन् । सहकारीका लेखा समिति संयोजक डोलराज शर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रम शिक्षा उपसमिति सदस्य लक्ष्मी घिमिरेले सञ्चालन गरेकी थिइन् ।