बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका –४ रात्माटामा दुर्घटनामा परेको हो ।
तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा पल्टिँदा चालक गलकोट नगरपालिका –३ का २५ वर्षीय यादव खत्रीसहित ७ जना घाइते भएका हुन् । घाइतेको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा चालक सहित गलकोट नगरपालिका –९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसी, गलकोट नगरपालिका –३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनी, गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्री, गलकोट नगरपालिका –७ बामियाँका २४ वर्षीय रोशन थापा, गलकोट नगरपालिका –३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बसन्तजंग पाण्डेले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।