पाकिस्तानले अफगानिस्तानको काबुलमा रहेको अस्पतालमा हवाई हमला गरेको छ। सोमबार राति भएको उक्त हमलामा कम्तीमा ४०० जनाको मृत्यु भएको र सयौँ घाइते भएको अफगान अधिकारीहरूले दाबी गरेका छन्।
हमलाका कारण अस्पतालको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त भएको सीएन एनले जनाएको छ। फितरतले भनेका छन्, ‘हालसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको छ र करिब २५० जना घाइते भएका छन्। स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेका दृश्यहरूमा सुरक्षाकर्मी र उद्धार टोलीहरूले टर्च बालेर भग्नावशेषबाट घाइते तथा शवहरू निकालिरहेको र आगो निभाउन सङ्घर्ष गरिरहेको देखिएको छ।
यता, पाकिस्तानले भने अस्पतालमा हमला गरेको आरोपलाई सिधै अस्वीकार गरेको छ। उसले पूर्वी अफगानिस्तानका केही क्षेत्रमा आफ्ना स्ट्राइकहरू केन्द्रित रहेको तर कुनै पनि नागरिक क्षेत्र वा अस्पतालमा क्षति नपुर्याएको दाबी गरेको छ। दुई छिमेकी मुलुकबीच गत महिनाको अन्त्यदेखि सुरु भएको यो द्वन्द्व पछिल्ला वर्षहरूकै सबैभन्दा घातक मानिएको छ।
यसअघि पनि पटक–पटक सीमा क्षेत्रमा झडप र हवाई हमलाहरू हुँदै आएका छन्। यसै हमलाको केही घण्टाअघि मात्र सीमा क्षेत्रमा भएको गोलाबारीमा चार जनाको ज्यान गएको थियो।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र तत्काल युद्धविराम गर्न आह्वान गरे पनि त्यसको पालना भएको छैन।