जिल्ला प्रहरी कार्यालय चितवनले १८ वर्षकी किशोरीलाई हनी ट्र्यापको अभियोगमा पक्राउ गरेको छ । ४९ वर्षका पुरुषलाई सम्पर्क गरी एक साताको सम्पर्कपछि रकम बार्गेनिङ गर्न थालेको अभियोगमा किशोरी र उनका सहयोगी युवकलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मोबाइल नम्बर पत्ता लगाएर १८ वर्षीया एनी तामाङेले ती पुरुषसँग कुराकानी गरेकी थिइन् ।
प्रहरीमा पीडित पुरुषले दिएको बयानअनुसार एकहप्ता लामो कुराकानीपछि फागुन २९ गते कालिका नगरपालिका जुटपानी नजिकै भेट्ने सल्लाह भएको थियो । २९ गते भेट्ने क्रममा स्कुटरमा गएका पुरुषलाई किशोरी र अर्का २५ वर्षीय विजय सुनारले टाउकोमा दाउराले हानेका थिए । त्यसपछि उनको बा. प्र. ००४ प ५८८९ नम्बरको स्कुटर उनीहरुले लिएर पुरुषलाई कि हामीलाई ५० हजार रुपैयाँ दे कि तँलाई बलात्कार आरोमा प्रहरीमा मुद्दा दर्ता गरिदिन्छु भनेका थिए ।
प्रहरीका अनुसार आफूसँग धेरै रकम नभएको अनुरोध गर्दै पहिलो दिन ५ हजार र दोस्रोपटक २ हजार रुपैयाँ पुरुषले युवतीलाई दिएका थिए । उनको स्कुटर पनि उनीहरुकै कब्जामा थियो । फोन गरेर रकम बार्गेनिङ गर्न थालेपछि टेलिफोन कुराकानीको रेकर्डसहित चितवन प्रहरीमा पिडित पुरुष पुगेपछी घटना बाहिर आएको हो ।
तेस्रो पटक १० हजार रुपैयाँ बार्गेनिङ गरेपछि उनी प्रमाणसहित प्रहरीको सम्पर्कमा आएका थिए । चैत १ गते आइतबार प्रहरीले पनि ति किसोरी र युवकलाई उल्टै स्क्याममार्फत नै दुवैजनालाई नियन्त्रणमा लिन सफल भएको डिएसपी खनाल बताउँछन् ।
‘पीडित पुरुष आएपछि हामीले पनि तपाइँलाई आइफोन गिफ्ट परेको छ, लिन आउनुस् भनेर सम्पर्क गर्यौँ,’ डिएसपी खनालले भने, ‘उनीहरुले पत्याएर तुरुन्तै त्यही व्यक्तिको स्कुटरमा आइपुगे । अनि प्रहरीले नियन्त्रणमा लियो ।’
प्रहरीका अनुसार सानो रकमको बार्गेनिङ भए पनि उनीहरुको नियत चाहिँ नियमित बार्गेनिङ गर्ने रहेको देखिएको छ । प्रहरीले यसअघि पनि अरुलाई यसैगरी ठगी गरेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ ।