सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गाउँपालिका वडा नं. ४ को कोशी कटानमा पूर्व–पश्चिम राजमार्गमा इनरुवाबाट भाण्टाबारी तर्फ आउँदै गरेको स १ च ९२१ नम्बरको स्कार्पिओले विपरीत दिशाबाट आउँदै गरेको मदेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको ३५० सिसिको रोयल बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करमा मोटरसाइकल चालक, सप्तरीको विष्णुपुर नगरपालिका वडा नं. २ का २८ वर्षीय सञ्जय साहको मृत्यु भएको छ। उनलाई तत्काल जिल्ला अस्पताल इनरुवामा ल्याइयो, तर चिकित्सकले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकलमा पछाडि सवार राजविराज निवासी २५ वर्षीया पुष्पा साह घाइते भएकी छन् र उनको उपचार जारी छ।
घाइते साहको टाउको, हात र खुट्टामा चोट लागेको र उनी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी कटानको नियन्त्रणमा राखिएको छ भने स्कार्पिओ र चालक, सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ६ का २५ वर्षीय रन्जित कुमार चौधरी, इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
ट्राफिक प्रहरीले दुर्घटना सडकमा ध्यान नदिने, तीव्र गति र सवारी कागजात नखुल्ने कारणले भएको अनुमान गरेको छ।