गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । यसपटक मतपेटिका सेनाले ढुवानी गर्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि गृहमन्त्री अर्यालले प्रष्टीकरण दिएका हुन् ।
उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको बताए ।
उनले मतपेटिका ढुवानी र सुरक्षाबारे कुनै भ्रम राख्न आवश्यक नरहेको र सबै काम स्थापित सुरक्षा मापदण्डअनुसार हुने जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको मन्त्री अर्यालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0