परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरुलाई आममाफी दिन सकारात्मक देखिएको जानकारी दिएका हुन् ।
म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरि एक वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगतै म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरि म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको अधिकारीले बताए ।
म्यानमारले अवैध अनलाइन स्क्यामिङमा १७ देशका ४९५ जनालाई पक्राउ गरेको भएपनि नेपाल र म्यानमारको अत्यस्त राम्रो द्विपक्षीय सम्बन्ध भएको कारणले नेपालीहरुलाई छाड्ने तयारी गरेको उनको भनाइ छ ।
अधिकारीले थाइल्याण्ड र म्यानमारमा आकर्षक तलवको प्रलोभन देखाई भारत लगाएत अन्य देशको बाटो हुदै त्यसतर्फ पठाउने गरेको पाइएको उल्लेख गरे । उनीहरुलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको अधिकारीले बताए ।
थाइल्याण्ड र म्यानमार पुगेका नेपालीहरुलाई निश्चित लक्ष्य दिइने र सो पुरा गर्न नसके प्रताडित गर्ने, शोषण गर्ने गरेको गुनासो धेरै नै आउने गरेको उनको भनाइ छ । परराष्ट्रले अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरू उद्धार गरी नेपाल फर्काउनका लागि सम्बन्धीत देशका दूतावासहरुमार्फत निरन्तर पहल गरिरहेको जनाएको छ ।
स्क्यामिङ केन्द्रहरूबाट हालसम्म ३९२ जना नेपाली नागरिकहरूलाई उद्धार गरी नेपाल फर्काइसकिएको र उद्धारको लागि प्रक्रियामा रहेका नेपालीको संख्या हाल ३०९ जना रहेको समेत परराष्ट्रले जानकारी दिएको छ ।