राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न माग गरेको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रसाईंको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको कदम अलोकतान्त्रिक भएको बताएका छन्। उनले लेखेका छन्, “रातिको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ। सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ।”
श्रेष्ठले बिना स्पष्ट कारण एउटै व्यक्तिमाथि पटक–पटक प्रतिशोध साँधेर पक्राउ गर्नुले सरकारको तानाशाही चरित्र पुष्टि हुने पनि उल्लेख गरेका छन्।
दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए। त्यसलगत्तै राप्रपाले उनको रिहाइको माग दोहोर्याउँदै “प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस्” भन्ने आग्रह सार्वजनिक गरेको हो।