नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा रुपन्देहीको भैरहवामा शंकास्पद वस्तु फेला परेको छ।
भैरहवाको लुम्बिनी गेट नजिकै सडक छेउमा बोराभित्र राखिएको उक्त वस्तुको बाहिर ‘नेपाल बन्द सफल पारौं’ भन्ने कागज टाँसिएको थियो।
शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। सूचना पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर सुरक्षित रूपमा डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको खुलेको रुपन्देही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो कुनै विस्फोटक नभई डर त्रास सिर्जना गर्ने उद्देश्यले राखिएको नक्कली शंकास्पद वस्तु हो। घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्नको खोजी जारी रहेको प्रहरीले बताएको छ।
यसैबीच, फागुन २१ गते हुने चुनाव बहिष्कारको आह्वान गर्दै नेकपा बहुमतले नेपाल बन्द गरेको जनाएको छ। बन्दका कारण जिल्लाका अधिकांश शिक्षण संस्था बन्द रहेका छन्। सवारी साधनहरू चलेका छैनन् भने बजार क्षेत्र पनि प्रायः सुनसान देखिएको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा नआउन, शंकास्पद वस्तु देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेका छन्।