नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले देवदह क्षेत्रको समग्र शैक्षिक विकासका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको प्रक्रियालाई एमाले नेतृत्वको सरकारले प्राथमिकताका साथ अगाडि बढाएको र यसलाई पूर्णता दिन आफूहरू कटिबद्ध रहेको बताउनुभएको छ।
देवदह–८ मा आयोजित निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश पलायन भइरहेको वर्तमान चुनौतीलाई चिर्न स्वदेशमै गुणस्तरीय शिक्षा, अनुसन्धान र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्नुपर्नेमा विशेष जोड दिनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको समन्वयमा आफ्ना धारणा राख्दै नेता न्यौपानेले देवदहलाई उच्च शिक्षाको विशिष्ट केन्द्र (हब) बनाउने योजना सुनाउनुभयो।
आगामी निर्वाचनले देश निर्माणको नयाँ मार्ग तय गर्ने उल्लेख गर्दै उहाँले जिम्मेवार राजनीतिक व्यवहार र दलहरूबीचको सहकार्य बिना अपेक्षित उपलब्धि हासिल गर्न नसकिने स्पष्ट पार्नुभयो। जनताको जीवनस्तर सुधार गर्न शिक्षा, पूर्वाधार र विकासका कार्यक्रमहरूलाई एकीकृत रूपमा अघि बढाइएको जानकारी दिँदै उहाँले गरिबी र भूमिहीनताको समस्या समाधान गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो। विशेष गरी देवदह क्षेत्रमा जग्गा व्यवस्थापन र नापजाँचको कार्य तीव्र गतिमा भइरहेको सन्दर्भमा उहाँले आगामी दुई वर्षभित्र सबै भूमिहीन तथा विपन्न परिवारलाई स्थायी आवासको व्यवस्था मिलाउने लक्ष्य रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। विकास र समृद्धिका हरेक अभियान सफल बनाउन जनताको सचेतता र राजनीतिक शक्तिहरूबीचको बलियो समन्वय अनिवार्य रहने उहाँको भनाइ थियो।
कार्यक्रम देवदह ८ निर्वाचन परिचालन समितिका संयोजक देवु भट्टराईको अध्यक्षता, देवदह ८का वडा अध्यक्ष हरी पाण्डेयको स्वागत मन्तव्य र शाखा कमिटिका अध्यक्ष लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।