रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर १२ जनाको ज्यान गएको छ । तीमध्ये ९ जनाको सनाखत भएको छ भने बाँकी ३ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो । दुर्घटनामा ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ ।
दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । सबै मृतकको शव मन्थली अस्पताल पुर्याइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अझै पनि नदीमा खोजी कार्य जारी राखेको छ ।
सनाखत भएका मृतकहरूमा दोलखा भिमेश्वर–७ की अन्दाजी २५ वर्षीया बबि तामाङ, भिमेश्वर–८ का अन्दाजी ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु तामाकोशी–४ का अन्दाजी २८ वर्षीय दिपेश बस्नेत, लिखु तामाकोशी–७ की अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ, अन्दाजी ३१ वर्षीया तारा तामाङ, अन्दाजी ३६ वर्षीय भिमबहादुर तामाङ, अन्दाजी १६ वर्षीया रमिता तामाङ, लिखु तामाकोशी–४ का अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत र सिन्धुली गोलन्जोर–६ का अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ रहेका छन् ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको र बाँकी मृतकको सनाखत प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।