नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार पनि दोहोरो अंकको गिरावटले निरन्तरता पाएको छ ।
आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार थप २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा बन्द भएको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सेयर बजारमा सकारात्मक असर पर्ने अपेक्षा गरिए पनि बजार भने उल्टै नकारात्मक बनेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार सुरु भएदेखि नै नेप्से ओरालो लाग्यो ।
सोमबार ३२४ कम्पनीका २ करोड ६७ लाखभन्दा बढी कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँमा किनबेच भए । २१२ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य मात्र बढ्यो । खानीखोला र रिडी हाइड्रोपावरको सेयर ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । समूहगत रूपमा पनि अधिकांश सूचक घटेका छन् ।
बैंक, बीमा, होटल, जलविद्युत्, उत्पादन र लघुवित्त सबै ओरालो लाग्दा व्यापार समूह मात्रै बढेको छ ।
आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो ।