मुगु जिल्लाको सोरु गाउँपालिका १० र ११ वडा अन्तर्गत दई,कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि अज्ञात पशुरोग फैलिँदा २०० भन्दा बढी भेडा र बाख्रा मरेका छन्।
यी दुई वडाको मुख्य पेशा भनेको नै भेडा र बाख्रा पालन भएको हुँदा यसैमा रोग तीव्र रूपमा फैलिँदै जाँदा स्थानीय गोठालाहरू गम्भीर चिन्तामा परेका छन्।
स्थानीय युवा तथा नेपाल किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका अनुसार यि दुई वडामा करिब १,५०० देखि २,००० सम्म भेडा र बाख्राको संख्या रहेको छ।
उनका अनुसार दैनिक रूपमा पशु मर्न थालेपछि गाउँमै त्रासको अवस्था सिर्जना भएको छ। संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीर भरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउँने, दुब्लाउँदै जाने, खोकि लाग्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिएको गोठालाहरूले आफूहरूसँग आएर जानकारी गराउने गरेका छन्।
स्थानीय भेडा गोठाला रतन मल्लले आफूसँग रहेका ८० भेडामध्ये यस्तै लक्षण देखिए पछि २०० वटा भेडा मरेको बताए। अर्का गोठाला पुन्न मल्लका अनुसार ६० भेडामध्ये ९ वटा भेडा रोगका कारण मरेका छन्। त्यसैगरी नौले नेपालीका ४५ मध्ये ९ मरेको र बाँकी १५ बिरामी रहेको जानकारी दिए।
त्यस्तै, बाख्रा गोठाला काईचन्द्र देवकोटाले आफूसँग रहेका १५० बाख्रामध्ये २० वटा बाख्रा मरेको जानकारी दिए। यसैगरी स्थानीय प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेकलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन्। वडाका १०० वटा भन्दा बढी बाख्रा र भेडा गोठालाको क्षति भएको स्थानीयले बताएका छन्।
पशु मृत्युदर बढ्दै जाँदा गोठालाहरूको आर्थिक अवस्था थप संकटमा परेको छ। दिनरात मेहनत गरेर भेडा बाख्रापालन बाटै दैनिक जीविकोपार्जन गर्दै आएका किसानहरू परिवार कसरी पाल्ने र छोराछोरीको पढाइ कसरी निरन्तरता दिने भन्ने चिन्तामा परेका छन्।
स्थानीय बाख्रा गोठाला देवीभक्त प्याकुरेलले अहिलेको अवस्था इतिहासकै अत्यन्तै पीडादायी बनेको र यस रोगका कारण कति रुनु,कहाँ जानु, के गर्नु, कसलाई भन्नु, दिनदिनै बाख्रा मरेर नाश भइरहेको प्याकुरेल बताउँछन्।
यति ठूलो क्षति हुँदा समेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालय मुगु घटनाबारे समयमै जानकारी नलिएको र हामीले समस्या भयो र हाम्रा भेडाबाख्रा मरेको यथार्थ हो भनेर सोरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण सेजुवाललाई जानकारी गराउँदा उल्टै गालि र अपशब्दमा हामीलाई नसोधेर किन मिडियामा पठाएको र अब औषधि पनि माथिबाट नै माग्नु भनेर थर्काउने गरेको र यो सामान्य रोग हो र मेरा पनि ४–५ वटा मरेका छन् भनेर जिम्मेवारीहिन क्रियाकलाप गरेको भन्दै स्थानीयवासीले असन्तोष व्यक्त गरेका छन्।
उनीहरूले तत्काल पशु चिकित्सक सहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।