आगामी आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने योजनामा रहेको एक अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ ।
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपास सक्रिय गिरोहलाई पूर्वी चम्पारण जिल्ला प्रहरी र एसटिएफ को संयुक्त टोलीले भारतको सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा पक्राउ गरेको हो । सोही क्रममा नक्कली नोट छाप्ने अत्याधुनिक कारखानासमेत फेला पारेर ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ ।
छापामारीका क्रममा करिब २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, नोट छाप्ने हाइटेक मेसिन, विशेष कागज, रसायन तथा अन्य उपकरणहरू बरामद गरिएको छ ।
घटनामा संलग्न १० जनालाई पक्राउ गरिएको छ, जसमा ३ जना नेपाली नागरिक समेत रहेका छन् । साथै, तीन वटा मोटरसाइकल र एउटा कारसमेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली रुपैयाँ फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गरी नेपालमा प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गरी ठूलो मात्रामा नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको पाइएको छ ।
सुरक्षा निकायले गिरोहका अन्य सदस्य र यसको मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र बनाएको जनाएको छ । प्रहरीले नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भन्दै यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।