सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् ।
नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका अनुसार ३४ वटा पुलमध्ये ३३ वटा पुलबाट अहिले सवारीसाधन सञ्चालन भइसकेको छ । बाँकी रहेको अरुण खोला पुल पनि फागुन २१ गतेअघि सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।
योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अरुण खोला पुलको अन्तिम ढलान सम्पन्न भएसँगै पूर्वी खण्डका सबै पुल निर्माण सकिएको हो । यस खण्डमा २२ वटा साना र १२ वटा ठूला गरी जम्मा ३४ वटा पुल छन् ।
पूर्वी खण्डमा सडक विस्तारको काम पनि तीव्र गतिमा भइरहेको छ । दाउन्ने क्षेत्रको कठिन भौगोलिक बनावटका कारण केही ढिलाइ भए पनि बाँकी स्थानमा प्रायः सबै ठाउँमा कालोपत्र सडक बनेको छ । हालसम्म यस खण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । दाउन्ने क्षेत्रमा सडक ढलान, कल्भर्ट निर्माण, डाँडा काट्ने र पहिरो नियन्त्रणका काम भइरहेका छन् ।
नारायणघाट–बुटवल सडक ११४ किलोमिटर लामो छ । यसलाई दुई खण्डमा विभाजन गरी चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले निर्माण गरिरहेको छ । कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको यो आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको हो ।
सरकारले तोकेको अन्तिम म्याद आगामी साउन ८ गतेसम्म रहेको छ ।