देवदह । स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०८२ आजदेखि देवदहमा सुरु भएको छ । जिल्लाभित्रका युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम अन्डर–१९ टिमका टिम कोच, पूर्व राष्ट्रिय खेलाडी तथा स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनको अध्यक्षता र देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण अधिकारीले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो । उहाँले स्थानीय तहले युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगितालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्रिकेटजस्ता खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउने उल्लेख गर्नुभयो । स्थानीय स्तरबाटै प्रतिभा उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा स्मृति सामुदायिक वनका अध्यक्ष भारत गुरुङ, वडा स्तरीय खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकान्त खरेल, देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गैरे, जे.आर. क्रिकेट एकेडेमीका डाइरेक्टर गङ्गा राम सुनार लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
उक्त कार्यक्रममा देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल, लुम्बिनी पानाका समाचार प्रमुख निर्मल थापा मगर, समाजसेवी धनबहादुर पोखरेल, देवदह क्रिकेट क्लबका कोच संकेत भट्टराई, खेलप्रेमी तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जिल्लाका विभिन्न क्रिकेट एकेडेमी तथा क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिता दुई समूहमा सञ्चालन भइरहेको छ । समूह ‘ए’ मा जितगढी क्रिकेट एकेडेमी, देवदह क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमी रहेका छन् भने समूह ‘बी’ मा न्यू होराइजन स्पोर्ट्स क्लब, नेपथ्य टी.सी.ए र वेस्टर्न क्रिकेट एकेडेमी सहभागी छन् ।
आयोजकका अनुसार प्रतियोगिताले देवदह तथा आसपासका क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नवप्रतिभा पहिचान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रम सिम्रिक आवाजका समाचार प्रमुख सुरज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।