'देवदहलाई ‘त्रि-नारी शक्तिको भूमि’का रूपमा विकास गर्नुपर्नेमा जोड'

४ हप्ता अगाडि

देवदह । देवदहलाई बौद्ध इतिहासका तीन महत्वपूर्ण नारीको नामले परिचित गराउनुपर्ने धारणा अगाडि सारिएको छ । दशौँ देवदह महोत्सवमा आयोजित पर्यटन गोष्ठीमा बोल्ने वक्ताहरुले देवदह बुद्ध मावली मात्र नभएर तीन नारी शक्तिको भूमिसमेत रहेकोमा जोड दिए ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले देवदह त्रि-नारी शक्तिको भूमि भएको बताए । बुद्धमाता मायादेवी, बुद्धको लालनपालन गर्ने प्रजापति गौतमी र बुद्धकी जीवन संगिनी यशोधराको जन्मस्थल देवदह रहेकोले सोही अनुसार विकासको अवधारणा तय गरिनुपर्ने उनले बताए ।
‘जसले सिद्धार्थलाई जन्म दियो, जसले सिद्धार्थलाई हुर्कायो र जसले सिद्धार्थलको जीवन संगिनी भएर साथ दियो ती सबै महान नारीको जन्म भूमि देवदह हो ।’ उनले भने, ‘यो देवदहको लागि गर्वको विषय हुनुपर्छ ।’

प्राज्ञ गौतमले देवदहमा बनाइने पार्क, चलाइने अभियान र कार्यक्रम सबैमा त्रिनारी शक्तिको प्रतिबिम्ब हुनुपर्ने बताए । उनले यशोधरा र सिद्धार्थको विवाह उत्सव मनाउन सकिने र त्यसको लागि देवदह र कपिलवस्तु नगरपालिकाले सहकार्य गर्नुपर्ने बताए ।

बुद्धकालमा वर्षमा एकदिन राजा महाराजाले एकदिन अनिवार्य खेत जोत्नुपर्ने, खेतीपातीमा जोडिनुपर्ने संस्कृति रहेको उल्लेख गर्दै देवदहमा पनि एकदिन रोपाईं महोत्सवजस्तो कार्यक्रम गरिनु उचित हुने धारणा राखे ।

देवदहमा संचालन गरिने अभियान कुनै नेता वा विदेशी एनजीओको नाममा नभई मायादेवी, प्रजापति गौतमी वा यशोधराको नामबाट संचालन गरिनुपर्ने बताए ।

गोष्ठीमा टिप्पणी गर्दै बौद्ध अध्येता कृष्ण प्रसाद पौडेल, निर्मल ढुंगाना र पर्यटन अभियन्ता यम रानाले पर्यटकीय सम्भावना हुँदाहुँदै पनि देवदहमा अपेक्षित काम हुन नसकेको बताए । देवदहमा ध्यान केन्द्र स्थापना गर्ने, मायादेवीसहितका त्रिनारी शक्तिको बाल्यकाल र जीवनी झल्किने कला तथा देवदह सुत्त लगायतका कार्य गर्न सकिने विचार राखे ।

गोष्ठीमा बोल्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले बजेट अभावमा धेरै काम गर्न नसकिएको भएपनि कामको सुरुवात गरिएको बताए । नगरपालिकाले उत्खननमा बजेट छुट्याएर काम गरिरहेको उल्लेख गर्दै प्रमुख खरेलले यशोधरा विवाह उत्सव मनाउन बजेट विनियोजन गरिएको र यसै वर्षबाट काम सुरु हुने बताए ।

सकारात्मक सोंच र विचार नै विकास र समृद्धिको महत्वपुर्ण औजार हुने उल्लेख गर्दै प्रमुख खरेलले देवदहमा केही पनि छैन र केही पनि भएन भन्ने सोचले विकास नहुने बताए । सबैको साथ र सहयोगले मात्र पर्यटन सहित शिक्षा, स्वास्थ्य, कृषि लगायतका सबै क्षेत्रमा विकास सम्भव हुने उनको भनाइ छ ।

महोत्सवका पर्यटन उपसमिति संयोजक यमलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नेपाल सरकारका उपसचिव गणेश घिमिरे, उद्योग व्यापार महासंघ केन्द्रिय सदस्य गोविन्द ठडराइ, मेलाका संयोजक गणेश खाती लगायतको उपस्थिति थियो । मेलाका सचिवालय संयोजक विनिराम सोमैले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै