'विद्यार्थीको च्याउले पायो, देवदह महोत्सवमा भाउ'

१ महिना अगाडि

देवदह । दशौँ देवदह महोत्सव परिसरको १० नम्बर स्टलमा राखिएका सेता र ताजा च्याउले धेरैको ध्यान तानिरहेका छन् । च्याउको वरिपरि भीड लाग्नुको कारण स्वाद मात्र होइन, ती च्याउ उत्पादन गर्ने हातहरू पनि हुन् ।

केरवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूका कलिला हातले उत्पादन गरेको च्याउले राम्रो मूल्य पाएपछि विद्यार्थीहरू उत्साहित छन् । विद्यालयमै कृषि विषय अध्ययन गर्दै आएका विद्यार्थीले अभ्यासका रूपमा उत्पादन गरेको च्याउ महोत्सवमा बिक्रीका लागि राखिएको हो । आयोजकले निशुल्क उपलब्ध गराएको स्टलमार्फत विद्यार्थीले आफ्ना उत्पादन बजारमा ल्याएका छन् । मेलाका स्टल व्यवस्थापन संयोजक अमृतबहादुर फुल्लेलले स्थानीय युवा-विद्यार्थीको उत्पादनलाई प्राथमिकता दिइएको बताए । ‘स्थानीय उत्पादनको बजारीकरण हाम्रो प्राथमिकता हो,’ संयोजक फुल्लेल भन्छन्, ‘देवदह बाहिरका उद्योगी-व्यवसायीलाई १८-२० हजार रुपैयाँ लिएर विक्री गरिने स्टल विद्यार्थी र स्थानीय युवालाई निशुल्क दिएका छौं ।

केरवानीका विद्यार्थी भाइबहिनीलाई आवश्यक सहयोग गर्दै आएका छौं ।’ स्टलमा च्याउ बेचिरहेका विद्यार्थीहरूका अनुहारमा व्यापारको सन्तुष्टि झल्किन्छ । कक्षा १० मा कृषि विषय अध्ययन गरिरहेकी सुनिता चापागाईंका अनुसार अहिलेसम्म करिब ९० केजी च्याउ बिक्री भइसकेको छ । ‘राम्रै व्यापार भएको छ,’ उनी भन्छिन्, ‘महोत्सवले हाम्रो उत्पादनलाई चिनाउन र बजार दिन सहयोग गरेकोमा खुसी लागेको छ ।’ विद्यार्थीले उत्पादन गरेको च्याउ प्रतिकेजी १८० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी १०० रुपैयाँमा च्याउको बीउ र ३५० रुपैयाँमा तयारी च्याउका डल्ला पनि विक्रीमा छन् ।

अध्ययनसँगै उत्पादन र व्यापारको अनुभव लिन पाउँदा विद्यार्थीहरू आत्मविश्वासी देखिन्छन् । माघ ६ गतेसम्म सञ्चालन हुने देवदह महोत्सवले यस क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिएको छ । आयोजकका अनुसार पछिल्ला वर्षहरूमा यस्ता मेलाले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजार पहुँच र पहिचान विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, सेल्फी तथा टिकटक जोनजस्ता आकर्षण पनि समावेश छन् । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहेको महोत्सवबाट १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास