सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजार चेकपोष्टमा सवारी साधन चेकजाँचका क्रममा युवराज नेवारलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमो जाँच गर्दा नेवारसँग रहेको कालो झोलाबाट ५७ हजार अमेरिकी डलर (१०० दरका ५७० नोट) र नेपाली १२ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार राति घ्याङलेक गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंकमा लुटपाटको घटना भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको थियो। सोही क्रममा चेकजाँच गर्दा डलरसहित नेवार पक्राउ परेका हुन् ।