बुटवल स्थित सिद्धार्थ केवलकार लिमिटेडल आईपीओ जारी गर्ने भएको छ ।
केवलकारले आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गर्दै आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सम्पन्न सभाले कम्पनीका विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ । सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
साधारण सभा सम्पन्न भएसँगै सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने कम्पनीका अध्यक्ष ई. राजेन्द्र सिंह गुरुङले जानकारी दिए । कम्पनीको परियोजना नुवाकोट गढी क्षेत्रमा रहेको छ, जुन ऐतिहासिक रूपमा वीर नेपालीहरूले अंग्रेज सेनालाई परास्त गरेको स्थानका रूपमा परिचित छ ।
साथै सोही क्षेत्रमा भगवान् गौतम बुद्धका कुलगुरुको प्राचीन आश्रम रहेको उल्लेख विभिन्न बौद्ध धर्मग्रन्थमा पाइने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष बुटवलका स्थानीय उद्यमी ई. गुरुङ रहेका छन् भने प्रबन्ध सञ्चालकमा शेयर विश्लेषक, लगानीकर्ता तथा जलविद्युत् व्यवसायी प्रभुलाल अधिकारी छन् । कम्पनीका मुख्य लगानीकर्तामा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड सहित प्रभु ग्रुप्स, बुटवल क्षेत्रका व्यवसायी लगातयत छन् ।
सभामा प्रस्तुत विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा ८ करोड रुपैयाँ सञ्चालन मार्फत मुनाफा आर्जन गरेको छ । आगामी वर्षमा अझ उच्च मुनाफा गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । साथै, गत वर्ष तीन लाखभन्दा बढी पर्यटकले सिद्धार्थ केवलकारमार्फत यात्रा गरेको जानकारी पनि सभामा दिइएको थियो ।