देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको सातौँ दिन चर्चित गायिका एलिना चौहान र शान्तिरानी परियारले प्रस्तुति दिएका छन् । एकैदिन दुई चर्चित महिला कलाकारको उपस्थिति हेर्न दर्शकको घुइंचो लागेको महोत्सवका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए ।
देवदह नारी शक्तिको भूमि पनि हो, चर्चित गायिकाहरुको प्रस्तुतिमा दर्शकको राम्रो साथ देखियो’ संयोजक ठडराईले भने । मंगलवार दर्शकको उल्लेख्य उपस्थिति रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए । महोत्सवमा बुधवार प्रस्तुति दिन चर्चित गायक प्रकाश सपुत लगायतका कलाकार देवदह आउने मेलाका प्रचार प्रसार संयोजक विष्णु पोखरेलले जानकरी दिएका छन् । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।