नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिका बीच विशेष महाधिवेशन पक्षधरको आह्वानमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ।
उद्घाटन सत्र आइतबार दिउँसो १ बजे खुला चौरमा हुनेछ, जहाँ ५० अतिथि अटाउने मञ्च र छ हजारभन्दा बढी सहभागीका लागि कुर्सीको व्यवस्था गरिएको छ।
आयोजक समितिका अनुसार उपत्यकाभरबाट र्यालीसहित प्रतिनिधिहरू सहभागी हुनेछन्। महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् भने अन्य दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन।
संस्थापन पक्षले भने १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गरेको छ। यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको भन्दै सहभागी हुन आह्वान गरेका छन्।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता भएको थियो।