गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ ।
लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि प्रदीपकुमार श्रेष्ठले फोटोग्राफरहरुको क्षमता अभिवृद्धि गर्न सुरु गरिएको उक्त तालिमले फोटोग्राफरहरुको आयआर्जनमा वृद्धि हुदै सकारात्मक प्रभाव छाड्ने बताए ।
तालिममा स्टोरी टेलिङ, क्यामेरा अपरेटिङ, कलर ग्रेडिङ्ग र फोटोग्राफीमा सिर्जनशीलताजस्ता विषयवस्तुमा भारतका प्रख्यात सिनेमाटोग्राफर एवम् ग्रे इण्डियाका प्रमुख कार्यकारी अधिकृत साजन मदानले तीन दिनसम्म सहजीकरण गर्ने कार्यक्रम संयोजक तथा लुम्बिनी फोटोग्राफर संघका कार्यसमिती सदस्य दीपक भट्टराईले बताए ।
यस्तो खालको तालिम नेपालमै पहिलो पटक बुटवलमा सञ्चालन गर्न थालिएको र अन्तराष्ट्रिय स्तरको कार्यक्रम बुटवलमा गर्न पाउदा यहाँका फोटोग्राफर हरुलाई प्रत्यक्ष फाईदा पुग्ने लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीका महासचिव त्रिभुवन पाण्डेयले बताए । तालिम पूर्ण प्रयोगात्मक रहने भउकाले पनी बढी लाभदायक रहने महासचिव पाण्डेको भनाई छ । तालिममा रुपन्देही भरिका ३० जनाले सहभागिता जनाएका छन् ।
उद्घाटन कार्यक्रममा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्याल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद भण्डारी र सल्लाहकार माधव पन्थले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
तालिम पौष २७ गतेसम्म सिद्धार्थ कजेट बुटवलमा सञ्चालन हुने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए ।



