देवदह नगरपालिकाको नगर सभाको १७ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले नगरको प्रशासनिक, शैक्षिक तथा आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
नगर सभाले विनियोजन ऐन, २०८२ को पहिलो संशोधन, नगर शिक्षा ऐन, २०७४ को दोस्रो संशोधन तथा नगर लेखा समिति गठन सर्वसम्मत रूपमा पारित गरेको हो। विनियोजन ऐन संशोधनमार्फत चालू आर्थिक वर्षका कार्यक्रम तथा बजेट कार्यान्वयनलाई थप व्यवस्थित र आवश्यकतामुखी बनाउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
नगर सभामा प्रस्तुत विवरणअनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सुरक्षा भत्ता बाहेक सञ्चित कोषबाट व्ययभार हुने गरी विनियोजित कुल बजेट १ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ। जसमध्ये हालसम्म २५ करोड १० लाख ५७ हजार रुपैयाँ खर्च भई १८.६६ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाले जानकारी दिएको छ।
त्यसैगरी, नगर शिक्षा ऐन, २०७४ को दोस्रो संशोधन ले स्थानीय तहमा शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा शिक्षक–विद्यार्थीको हितलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। साथै, वडा सदस्य अमर लामिछानेको संयोजकत्वमा गठित नगर लेखा समिति गठनसँगै नगरपालिकाको नीति तथा वित्तीय कारोबारमा पारदर्शिता, अनुशासन र जवाफदेहिता थप मजबुत हुने विश्वास लिइएको छ। जसको सदस्यमा होमनाथ भट्टराई र तुलबहादुर चौधरी रहेका छन् /
नगर सभा नगर प्रमुख ध्रुव प्रसाद खरेलको अधक्ष्यता , उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, १ देखि १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
नगर सभामा सहभागी जनप्रतिनिधिहरूले पारित ऐन, संशोधन तथा प्रस्तुत आर्थिक विवरणहरूले देवदह नगरपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताएका छन्। कार्यक्रम वरिष्ठ प्रशासकीय अधिकृत रमेश गिरीको संचालनमा सम्पन्न भएको थियो।