'काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिँदै कुलमान घिसिङ'

१ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा उर्जमन्त्री कुलमान घिसिङले काठमाडौंको क्षेत्र नम्बर ३ बाट आगामी आमनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

रास्वपासँग एकता नहुँदै घिसिङले उज्यालो नेपालबाट काठमाडौं-३ मा लड्ने तयारी सुरु गरिसकेका थिए ।

एकतापछि पनि उनी यही क्षेत्रबाट लड्ने समझदारी नेतृत्व तहमा भएको बुझिएको छ । उनी अहिले सो निर्वाचन क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया र भेटघाटमा व्यस्त छन् ।

घिसिङ काठमाडौं-३ कै बासिन्दा पनि हुन् । अघिल्लो आमनिर्वाचनमा नै उनी यस क्षेत्रबाट माओवादी उम्मेदवार बन्ने चर्चा थियो । यस्तो चर्चा माओवादीले नै चलाएको थियो । माओवादीले प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्विर राखेर एउटा पोष्टर सार्वजनिक गरेपछि विवाद पनि निम्तियो । त्यसबेला घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । विवादपछि उनले आफू माओवादीमा नरहेको र चुनाव पनि नलड्ने सार्वजनकि प्रष्टीकरण दिए । माओवादीले पनि उनको तस्विर हटायो ।

प्राधिकरणबाट बाहिरिनु अघि नै घिसिङले राजनीतिमा आउने र २०८४ को चुनाव लड्ने मनसाय बनाइसकेका थिए । त्यसबेलैदेखि उनको रोजाईमा काठमाडौं-३ परेको हो । त्यसैमा उनी पछिसम्म अडिक गरे । यो क्षेत्रमा राजनीतिक दलबाट हाइप्रोफाइल उम्मेदवार नरहेको र मतदाताले ‘लोकप्रिय छवि’ भएको व्यक्ति खोज्न सक्ने हुँदा घिसिङलाई तुलनात्मक रुपमा सहज हुन सक्ने अनुमान गरिएको छ ।

२०७९ को निर्वाचनमा काठमाडौं-३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी बनेका थिए । उनले एमालेका कृष्ण राईलाई करिब ४ हजार मतले पछि पारेका हुन् । गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत ल्याएर दोस्रो भए । राप्रपाका दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ मत ल्याएर तेस्रो भएका थिए ।

यस क्षेत्रका कांग्रेस सांसद चालिसेमाथि अहिले भ्रष्टाचार मुद्दा लागेको छ । गोकर्णेश्वरको मेयर भएका बेला गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा मुद्दा दायर गरेको हो । उनको आठ करोड ५६ लाख रुपैयाँको सम्पत्तिमध्ये चार करोड ८८ लाखको मात्रै स्रोत खुलेको अख्तियारको दावी छ ।

भ्रष्टाचारको मुद्दा लाग्नुअघि नै कांग्रेसको क्षेत्रीय कमिटीले आमनिर्वाचनका लागि चालिसेको एकल सिफारिस गरेको थियो । उनको सिफारिसमा असन्तुष्ट बनेकाहरुले क्षेत्रीय कार्यालयमा तालावन्दी गरेका थिए ।

एमालेबाट रामेश्वर फुयाँल र कृष्ण राई प्रमुख आकांक्षी हुन् । फुयालले २०७० मा यही क्षेत्रबाट चुनाव जितेका थिए । अबको चुनावमा कुलमानको प्रतिस्पर्धा कांग्रेस र एमालेकै उम्मेदवारसँग हुने आँकलन छ ।

कुलमान अहिलेको मन्त्रीपरिषदमा दोस्रो वरियताका मन्त्री हुन् । उनले चुनावका लागि मनोनयनपत्र दर्ता गर्नुअघि राजीनामा दिने मनशाय बनाएका छन् । पछिल्लो समयमा केही विवादहरुले उनको लोकप्रियतामा केही आँच आएको छ ।

रास्वापले चुनावमा उम्मेदवार छान्न प्राइमरी इलेक्सनको विधि बनाएको छ । तर, भर्खरै एकता प्रक्रियाबाट आएकाहरुको हकमा प्राइमरी इलेक्सन लागू नहुने उज्यालो नेपाल स्रोतले दाबी गर्यो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास