रुपन्देहीको कञ्चन गाउँपालिका–३ रुद्रपुरमा १७ वर्षीय ईशान शर्मा पौडेलको मृत्युले जिल्लामा गहिरो बहस, आक्रोश र शंकाको वातावरण सिर्जना गरेको छ। पुस ३ गते बिहान घर नजिकै करिब १५० मिटर टाढा रहेको ढाकिएको नालीभित्र ईशानको शव भेटिएपछि परिवार, आफन्त र स्थानीय बासिन्दाले यो घटना सामान्य सवारी दुर्घटना नभई नियोजित हत्या भएको आशंका गर्दै सत्यतथ्य छानबिनको माग गरिरहेका छन्।
स्थानीयका अनुसार शव भेटिएको नाली करिब ६ मिटर लम्बाइको छ, जुन बाहिरबाट पूरै ढाकिएको छ र एउटा सानो प्वाल मात्र खुला रहेको छ। त्यस्तो स्थानमा सवारी साधनको ठक्करपछि घाइते व्यक्ति आफैँ पुग्नु वा उछिट्टिएर खस्नु अत्यन्तै असम्भव देखिने उनीहरूको भनाइ छ। घटनास्थलमा ब्रेक लागेको चिन्ह, टायरको छाप, धुलो माडिएको वा शरीर घसारिएको कुनै प्रमाण नदेखिएको भन्दै परिवारले प्रहरीको प्रारम्भिक निष्कर्षप्रति प्रश्न उठाएको छ।

परिवारका अनुसार ईशान पुस २ गते दिउँसो विद्यालयबाट फर्किएपछि साँझ साढे ५ बजे जिम जाने भन्दै घरबाट निस्किएका थिए। साँझ करिब ७:३० बजे रुद्रपुरकै सुनगाभा चोकबाट साथीहरूसँग छुट्टिएर घरतर्फ हिँड्दै गरेको दृश्य सिसिटिभी फुटेजमा देखिए पनि त्यसपछि उनी सम्पर्कविहीन भए। भोलिपल्ट विद्यालय नगएपछि खोजी सुरु गर्दा सोही दिन बिहान नालीभित्र शव फेला परेको थियो।
परिवारले ईशानको टाउकोको पछाडि र आँखामा गम्भीर चोट देखिएको, तर शरीरमा अत्यधिक रगत नबगेको बताउँदै दुर्घटनासँग मेल नखाने दाबी गरेका छन्। उनीहरूले ईशानलाई अन्यत्र हत्या गरेर शव नालीमा ल्याएर राखिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
प्रहरी प्रशासनले भने प्रारम्भिक अनुसन्धानका आधारमा लु २ ख ४९४८ नम्बरको फोर्स गाडीको ठक्करबाट ईशानको मृत्यु भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटनामा संलग्न चालकसहित तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। शवको भिसेरा परीक्षण गर्ने तयारीसमेत भइरहेको प्रहरीले जनाएको छ।
तर पीडित परिवार प्रहरीको प्रारम्भिक प्रतिवेदनप्रति सन्तुष्ट छैन। वास्तविक दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै उनीहरूले इलाका प्रहरी कार्यालयदेखि प्रदेश सरकारसम्म न्यायको माग गरेका छन्। हाल ईशानको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
यो घटना केवल एक किशोरको मृत्युमा सीमित नभई प्रहरी अनुसन्धानको निष्पक्षता, पारदर्शिता र न्याय प्रणालीप्रति जनविश्वासको गम्भीर प्रश्न बनेको छ। स्थानीय बासिन्दाले निष्पक्ष र विश्वसनीय छानबिनबाट सत्य सार्वजनिक गर्न सरकार र प्रहरीसँग माग गरेका छन्।