रुपन्देही । रुपन्देहीको तिलोत्तमा प्रथम नगर स्तरीय मित्रता क्याम्प-२०८२ आजबाट सुरु भएको छ । तिलोत्तमा-८, स्थित श्री जनभावना माविको प्राङ्गणमा विद्यार्थीहरुको शारिरिक, मानसिक, सामाजिक तथा चारित्रिक व्यवहारमा सकारात्मक परिवर्तनका निम्ती सो क्याम्प सुरु भएको हो।
क्याम्पको एक कार्यक्रमकाबीच नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराईले उद्घाटन गर्नुभएको हो । क्याम्पको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराईले स्काउट गतिविधिलाई प्रदेशका १०९ वटै स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीको स्तरअनुसार औपचारिकसँगै व्यवहारिक शिक्षा दिइने, राष्ट्रप्रेम जागृत गरिने र सीपसहितको पाँच आयामको स्काउट शिक्षा प्रदान गरिने बताउनुभयो ।तिलोत्तमा नगरपालिकाले नगरस्तरीय मित्रता क्याम्पको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गर्दै उहाँले क्याम्पमा शारीरिक अभ्यास, अर्धसैनिक तालिम र उद्धार अभ्यासजस्ता गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो।उहाँले नैतिक, मूल्यवान र स्वयंसेवी नागरिक निर्माण नै स्काउटको लक्ष्य भएको उल्लेख गर्दै सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षालाई प्राथमिकता दिइने बताउनुभयो ।
२ रात ३ दिन सम्म चल्ने क्याम्पमा स्काउट विद्यार्थीहरुका लागि स्काउटको सिद्धान्त, प्राथमिक उपचार प्रशिक्षण, शारिरिक व्याम, साहासिक क्रियाकलाप, क्याम्प फायर, स्काउट धर्म सभा लगाएतका कार्यक्रम संचालन गरिने रोभर लिडर तथा क्याम्पका प्रशिक्षक अमृत सुनारले बताउनुभयो।
कार्यक्रममा शंकरनगर दुर्गादत्त मा.विका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे,जनभावना मा.विका प्रधानाध्यापक शम्भु प्रसाद पराजुली, लुम्बिनी प्रदेश युवा परिषदका अध्यक्ष सुशील मरासिनी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत तारा पुरी, शान्ती नमुना मा.विका सहायक प्र.अ दीपेन्द्र शाक्य, स्थानीय स्काउट कार्यालय, तिलोत्तमा नगर समिती सदस्य डिल्लीराज पौडेल,देवदह नगर समिती सदस्य सुरज भट्टराई, स्काउट मास्टरहरु, रोभर-रेन्जर हरुको आतिथ्यता रहेको थियो।
उक्त कार्यक्रम स्थानीय स्काउट कार्यालय तिलोत्तमा नगरपालिकाको प्रमुख आयुक्त पारेश्वर चापागाईंको अध्यक्षता, कोटहीमाई आधारभुत विद्यालयका प्रधानाध्यापक तथा संस्थाका सल्लाहकार डिल्लीराज भण्डारीको स्वागत र नगर समिती सदस्य दुर्गादत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।