पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।
पानी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले गाडी नचलाउन अनुरोध गरिएको हो।
पश्चिमबाट पूर्वतर्फ जाने अर्थात बर्दघाटबाट दुम्किबास जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेका छैनन् ।सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन चढ्न नसक्दा ठाउँठाउँमा बिग्रिएकोले लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार ठाउँठाउँमा सवारी साधन बिग्रिएका कारण सडक एकतर्फी भएको छ । जसले गर्दा सवारी साधनको लामो लाइन लागेकोछ । सवारीसाधनको लाम १० किलोमिटरभन्दा लामो छ ।
पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ५ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गरी दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।
दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । दुम्किबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारी साधनको लामो लाइन लागेको छ।
करिब १० किलोमिटर खडक खण्डमा सवारी साधनको लामो लाइन लागेको स्थानीयले बताएका छन् । दाउन्नेमा सवारी साधनको अत्यधिक चाप बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायतका क्षेत्रमै सवारी साधनलाई होल्ड गराएर राख्न सुरु गरेको छ ।
दाउन्नेको उकालोमा आधादर्जन बढी सवारी साधनहरु विग्रिएर बसेका छन जसलाई तत्काल हटाउन सक्ने सम्भावना छैन ।
सडकमा सयौको संख्यामा सवारी साधनहरु लाइन लागेको छ । यहाँ दैनिक जसो हिलो र चिप्लोले सवारी साधन विग्रने तथा फस्ने गरेको छ । जसले गर्दा यात्रुहरु घण्टौं जाममा पर्ने गरेका छन् ।
सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दशैं अगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडकखण्डमध्ये पश्चिम खण्डको ३ किलोमिटर मात्र पूर्ण रुपमा कालो पत्रे भएको छ भने केही ठाउँमा ठलानको काम सकिएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची छ र खाल्डा परेका छन् ।
दाउन्नेको ४ ठाउँमा कल्भर्ट निर्माणको काम नसकिएकोले सडक एकतर्फी रहेको छ भने ढलानको काम भईरहेका ठाउँहरुमा पनि सडक एकतर्फी रहेका छन् । जसले गर्दा दाउन्नेमा सामान्य पानी पर्ना साथ यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ ।