उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बल को माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ।
उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो।पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ। पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने छ। हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।