सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट आज ९कात्तिक १३० बिहानसम्म १६२ जनाको उद्धार गरेको छ ।
अन्नपूर्ण बेसक्याम्पमा अब कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।“सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेसक्याम्पमा हिउँपहिरो आइरहेको छ,” उनले भने ।
सशस्त्र प्रहरीको टोली मंगलबार (कात्तिक ११) उद्धारका निम्ति बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको ‘कमान्ड’मा गएको फौजले १७ विदेशी पर्यटकसहित १६२ जनाको उद्धार गरेको उनले जानकारी दिए ।
“बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो,” उनले भने, “सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ ।”
बुधबार (कात्तिक १२) बेसक्याम्पबाट ५२ पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो ।
उद्धार गरिएका पर्यटकलाई गुफाफाँट, सादिखर्कलगायत हिमपात नभएका स्थानसम्म सुरक्षित ल्याइएको उनले बताए । “उनीहरू सबै हिमपात नभएको सुरक्षित स्थानमा छन्,” डीएसपी थापाले भने, “उद्धार गरिएका केहीमा श्वासप्रश्वासलगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या देखिएको छैन ।”