'वर्षायाममा पानीबाट सङ्क्रामक हुने रोगको जोखिम उच्चः पानीलाई कसरी शुद्धीकरण गर्ने'

६ महिना अगाडि

पानी जीवनका लागि अपरिहार्य हो तर यही पानीमा रहेका हानिकारक सूक्ष्म जीवाणु र प्रदूषणका कारण वर्षेनि पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढ्दै गइरहेकाे छ ।

पानीजन्य रोग विभिन्न कारणले हुने गर्छ । सुक्खायाम भन्दा वर्षायामको मौसममा पानीजन्य रोग देखा पर्ने सम्भावना अत्यधिक हुन्छ । पानी परेपछि पानीको स्रोतको तह बढ्छ । सेप्टिक ट्याङ्कीको ढलबाट निकास भएको दूषित फोहोर पानी खानेपानीमा मिसिन सक्छ । यस्तै व्यवस्थित नभएको बस्तीका घरको शौचालयबाट व्यवस्थापन नभएको प्रदूषित फोहोर पानी पनि खानेपानीको स्रोतमा मिसिएर पानीजन्य सङ्क्रामक रोग देखा पर्न सक्छ ।

सबैभन्दा बढी मुहानको पानीलाई सफा र सुरक्षित मानिन्छ । तर मानवीय बस्ती विस्तार हुँदै गएको ठाउँमा रहेका शौचालयबाट हुने चुहावटले पनि मुहानको पानी प्रदूषित हुने गरेको छ । धेरै घर रहेको शहरी क्षेत्रमा ढल र पानीको पाइपलाइन सँगै हुँदा र ती पाइपलाइन फुटेर पनि सङ्क्रामक रोगले महामारीको रूप लिने गरेको छ ।

पानीबाट हुने सङ्क्रामक रोगहरू के–के हुन् ?

पानीजन्य मुख्य रोग भनेकै झाडापखाला हो । योसँगै पानीजन्य सङ्क्रामक रोगमा हैजा, ज्वरो, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी लगायतका रोग देखा पर्न सक्छ ।

पानी कसरी शुद्धीकरण गर्ने ?

पानी शुद्धीकरण भनेको पानीको स्रोतबाट आएको पानी सुरक्षित बनाउनु हो । विभिन्न उपायको माध्यमबाट पानीको प्रदूषण निर्मलीकरण गर्नका लागि पानीलाई शुद्धीकरण गर्न सकिन्छ । पानीलाई शुद्धीकरण गर्ने विभिन्न उपायमध्ये पानी उमालेर खाने, फिल्टर प्रयोग गर्ने, क्लोरिनको प्रयोग, सोडिस लगायतका छन् ।

पानी उमालेर खाने :

पानी शुद्धीकरण गर्ने मुख्य उपाय भनेको पानी उमालेर खाने नै हो । पानी शुद्धीकरण गर्ने यो सबैभन्दा सजिलो उपाय पनि हो । पानी भकभक उमालेर खाने हो भने पानीमा रहेको जीवाणु नष्ट हुने र यो सबैभन्दा राम्रो उपाय भएको वैज्ञानिक पुष्टि पनि भएको छ । कतिपयले हल्का मनतातो मात्रै गर्ने गरेका छन् तर १०० डिग्री तापक्रममा उमालेर पानी खाने हो भने पानीमा रहेको जीवाणु नष्ट हुन्छ ।

फिल्टरको प्रयोग :

पानी शुद्धीकरण गर्ने अर्को उपाय भनेको फिल्टरको प्रयोग हो । फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो । यसरी फिल्टर भएको पानीलाई सफा गिलासमा पिउँदा पानीसम्बन्धी रोग लाग्न पाउँदैन ।

सोडिसको प्रयोग :

सोडिस विधि पनि पानी शुद्धीकरण गर्ने अर्को सजिलो उपाय हो । तर यसका लागि चर्को घाम र पारदर्शी बोतलको आवश्यकता पर्छ । सबैभन्दा पहिले प्रकाश छिर्ने पारदर्शी बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने । त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा ढल्काएर राख्ने । डाक्टरहरूका अनुसार सात घण्टा पारिलो घाममा राख्दा कीटाणुहरू नष्ट भई पानी सुरक्षित हुन्छ ।

क्लोरिनको प्रयोग :

खानेपानीमा रसायन हालेर शुद्धीकरण गर्ने विधिलाई क्लोरिनेशन भनिन्छ । खानेपानीमा यस्तो रसायन हालेपछि कीटाणुहरु नष्ट हुनुका साथै पानीमा पाइने अन्य अजैविक तत्त्वहरूलाई समेत कम गर्ने पानी गुणस्तर विज्ञको दाबी छ । यसमा पानीको परिमाण र रसायनको अनुपात नमिलेमा पानीको स्वाद फरक हुने र गन्ध आउने पनि हुन सक्छ । एक लिटर पानीमा तीन थोपा क्लोरिन वा पियुषको झोल प्रयोग गर्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले अनुमान गरे अनुसार सबै रोगहरूको ८० प्रतिशत र सबै मृत्युको एक तिहाइको कारकका रूपमा पानीलाई लिने गरिन्छ । सबै पानीजन्य रोगहरूको ८८ प्रतिशत अपर्याप्त सरसफाइ सुविधाहरू र असुरक्षित पानी आपूर्तिका कारण हुने अनुमान गरिएको छ ।

साबुनपानी प्रयोग गरी हात धुँदा ३ अघि र ३ पछिमा ध्यान दिने :

सङ्क्रामक रोगबाट बच्नका लागि पानीको प्रयोगसँगै सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । सरसफाइमा साबुनपानीले हात धुने गर्दा ३ अघि र ३ पछिमा ध्यान दिने गर्नुपर्छ । ३ अघि भन्नाले खाना खानुअघि, बच्चालाई खाना खुवाउनअघि र खाना पकाउन वा पस्किनअघि साबुनपानीले हात धुनुपर्छ । साथै ३ पछिमा ध्यान दिने भन्नाले शौचालय गएर आएपछि, बच्चाको दिसा छोएपछि वा कुनै फोहोर छोएपछि साबुनपानीले हात धुनुपर्छ । यी कुरालाई ध्यान दिने हो भने सङ्क्रामक रोग सर्नबाट जोगिन सकिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै