सुनिल दर्जी, फिनल्याण्ड। नेपाली विद्यार्थीहरुको विदेशमा शिक्षा हासिल गर्नु सधैँ रोमान्चक सपना लाग्छ। तर जब त्यो सपना साकार पार्नका लागि सयौं माइल टाढाको देशमा गएर श्रम, संघर्ष र सन्तुलनमा जीवन सुरु गर्नुपर्छ, तब थाहा हुन्छ, विदेशको भूमिमा पाइला टेक्नु केवल पढ्नकै लागि मात्र होइन, आफैँलाई परिपक्व बनाउने यात्राको थालनी पनि हो भन्ने कुरा।
स्याङ्जा जिल्लामा जन्मिएर बुटवलमा स्नातक पढ्दै गरेका सुनिल दर्जीको जीवन यस्तै प्रेरणादायी यात्रा बनेको छ। विगत दुई वर्षदेखि फिनल्याण्डमा बस्दै आएका सुनिल उच्च शिक्षा संगै रोजगागरी को लागि त्यहाँ रहेका छन्। पढाइसँगै काम गर्दै उनी आफैं आत्मनिर्भर बन्दै गएका छन्।
नेपालदेखि फिनल्याण्डसम्मको यात्रामा सुनिलले नेपालमा सूचना प्रविधि विषयमा अध्ययन गरेका थिए। उनले बुटवल बहुमुखी क्याम्पसमा स्नातक पढ्दापढ्दै विदेशमा उच्च शिक्षा लिदै घरको आर्थिक अवस्था सुधार गर्ने चाहना राखे।
लामो तयारी, आवेदन प्रक्रिया र आर्थिक व्यवस्थापनपछि उनले फिनल्याण्डको एक युनिभर्सिटीमा टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक अध्ययनको लागि विदेशिने निधो गरे र उनिलाई साथ दिईन उनकी जिवनसंगिनीले।
विदेश जानु सजिलो थिएन, तर म अवसर खोज्दै थिएँ, सुनिल भन्छन्, ‘फिनल्याण्डको शिक्षा प्रणाली र विद्यार्थीलाई दिइने अधिकारहरूले मलाई त्यहाँ जान प्रोत्साहित गर्यो।’
फिनल्याण्डको शैक्षिक वातावरण नेपालभन्दा धेरै फरक छ। कक्षा बढी प्रोजेक्टमा आधारित, अनुसन्धानमुखी, र विद्यार्थी केन्द्रित छन्। सुनिलका अनुसार सुरुका दिनमा त्यो शैलीमा अभ्यस्त हुन समय लाग्यो।
यहाँ पढाइ आफैंले खोज्ने हो, उनी भन्छन्, ‘शिक्षकहरू सहयोगी छन्, तर तपाईं आफैं लगनशील नभए केही हासिल गर्न सकिँदैन।’
फिनल्याण्डको भाषा स्थानीय संचारका लागि महत्वपूर्ण भए पनि युनिभर्सिटीमा पढाइ अंग्रेजीमै हुने भएकाले उनी पढाइमा सहज छन्। तर दैनिक जीवन-जस्तै सुपरमार्केट, बस, वा स्थानीय अफिसहरूसँग व्यवहार गर्दा भाषा कहिलेकाहीँ चुनौती हुन्छ। त्यसका लागि उनी फिनिश भाषा पनि बिस्तारै सिक्दै छन्।
सुनिलको जीवन अत्यन्त व्यवस्थित छ। उनी भन्छन्, समय नमिलाए यहाँ पढ्न र काम गर्न सकिँदैन।
उनी हप्ताहको लगभग ३० घण्टासम्म काम गर्छन्, जुन फिनल्याण्ड सरकारले विदेशी विद्यार्थीलाई दिएको अधिकतम कानुनी सीमाभित्र पर्छ। यो कमाईले उनि आफ्नो तलबले उनको कोठा भाडा, खाना, ट्रान्सपोर्ट, र अन्य आवश्यक खर्च धान्न पुग्छ। कहिलेकाहीँ खर्च बढी भए सानो मोटी बचतबाट व्यवस्थापन गर्छन्।
‘घरबाट पैसा माग्न पर्दैन भन्ने कुरा नै सन्तोषको विषय हो, ‘उनी भन्छन्, श्रमले मूल्य बुझाउँछ।’
विदेशमा हुँदा सामाजिक सम्बन्धहरू निकै महत्त्वपूर्ण हुन्छन्। सुनिल पनि शुरुका दिनमा एक्लो महसुस गर्थे। तर फिनल्याण्डमा रहेका नेपाली विद्यार्थीहरू, नेपाली सङ्घ–संस्था, र फिनल्याण्डका साथीहरूबाट उनले सामाजिक अपनत्व पाएका छन्।
‘हप्तामा एकचोटि नेपाली साथीहरूसँग भेला हुन्छौं, खाना पकाउँछौं, अनुभव साट्छौं, ‘उनी भन्छन्, यसले मानसिक राहत दिन्छ।’
सुनिल आफ्नो मास्टर्स डिग्री सन् २०२७ को अन्त्यसम्ममा पूरा गर्ने तयारीमा छन्। त्यसपछि उनी कम्तीमा केही वर्ष फिनल्याण्डमै काम गरेर अनुभव बटुल्न चाहन्छन्। दीर्घकालीन लक्ष्य भने नेपाल फर्केर पर्यटन, हस्पिटालिटी म्यानजेमेन्ट र सूचना प्रविधि शिक्षाको क्षेत्रमा काम गर्नु हो।
‘नेपालमा अझै व्यावसायिक र आधुनिक शिक्षाको खाँचो छ। म चाहन्छु-मैले सिकेको यहाँको शिक्षा प्रणाली नेपालमा केही हदसम्म स्थानान्तरण गर्न सकूँ,’ उनी उत्साहित हुँदै भन्छन्।
सुनिल दर्जी फिनल्याण्डमा रहेका हजारौं नेपाली विद्यार्थीहरूको प्रतिनिधि पात्र हुन्। उनीहरूको जस्तो संघर्ष, संयम, र श्रमले नै विदेशमा नेपाली समुदायको पहिचान बनिरहेको छ। सुनिलले देखाएको अनुशासन, लगनशीलता र सपना प्रति निष्ठाले नेपालका युवाहरूलाई प्रेरणा पक्कै दिन्छ।
सुनिल सिम्रिक आवाज मिडिया प्रा.लिको फिनल्याण्ड प्रतिनिधी समेत हुन ।