देवदह । देवदह नगरपालिका पशु सेवा शाखाले वडा नं. ११ मधपुर गाउँमा बाख्रापालनमा संलग्न किसानहरूलाई लक्षित गरी एक दिवसीय निःशुल्क बाख्रा शिविर सम्पन्न गरेको छ। शिविरमा करिब ८० जना किसानका ४६७ वटा बाख्राहरूको उपचार तथा करिब १७ प्रकारका औषधी तथा इन्जेक्सन वितरण गरिएको थियो।
शिविरमा माटेजुका, लिभर टोनिक, पाचक, ज्योरो, पखाला, किर्ना, खोकी, पेट फुलेको, भिटामिन, ज्योरोको इन्जेक्सन लगायतका औषधिहरू निःशुल्क प्रदान गरिएको पशु सेवा शाखाले जनाएको छ।
सो अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादवले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न यस्ता शिविरले ठूलो सहयोग गर्छ, नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिई अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य गोविन्द पासी, वडा सदस्य राजकुमार केवटलगायतको उपस्थिति रहेको थियो भने शिविरमा पशु प्राविधिकहरूको टोली – हर्क दानी, प्रविन गौडेल, ईश्वर राज पन्त, पिताम्बर खरेल र अजय चौधरीले सेवा पुर्याएका थिए । उक्त शिविर देवदह नगरपालिका वडा नं. ११ अन्तर्गतको कदमिपुर, सौधहनिया र रेहेराका किसानहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो।
कार्यक्रम संयोजक एवं पशु विकास अधिकृत प्रविन गौडेलले अत्यन्त ग्रामीण क्षेत्रमा पुग्न नसक्ने किसानसम्म सेवा पुर्याउने उद्देश्यले हरेक वर्ष शिविर सञ्चालन हुँदै आएको बताउनुभयो । उहाले आगामी वर्षमा देवदह नगरपालिकाका अन्य ५–७ स्थानमा यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
यस कार्यक्रमबाट सेवा प्राप्त गरेका वडा बासिन्दा निकै खुशी देखिन्थे। उनीहरूले नगरपालिकाको कार्यालयबाट टाढा रहेकाले यस्ता शिविरहरूबाट प्रत्यक्ष लाभ पाएको बताउदै हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन हुँदा पशुपालनतर्फ झनै प्रेरित भएको अनुभव उनीहरूले बताएका थिए।