देवदह । साना किसान कृषि सहकारी संस्था देवदहले शेयर सदस्यहरूले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण सुरु गरेको छ । सहकारीको २९ औँ स्थापना दिवसको अवसरमा कृषि सामाग्री संकलन तथा विक्रि केन्द्रको उद्घाटन गर्दै बजारीकरणको शुरुवात गरेको हो । केन्द्रको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले साना किसान सहकारीले उद्धेश्य अनुरुपको अभ्यास सुरु गरेको बताए । उनले बचत संकलन र ऋण लगानीको सिमित दायराबाट माथि उठ्दै सहकारीहरुले उत्पादन र बजारीकरणमा काम गर्नुपर्ने बताए ।
देवदह-६ मा मुख्य कार्यालय रहेको साना किसान कृषि सहकारी संस्थाले महत्वपूर्ण कार्यको सुरुवात गरेको उल्लेख गर्दै प्रमुख खरेलले देवदहका अन्य साना किसान कृषि सहकारीहरु बीच एकीकरण आवश्यक रहेको बताए। सहकारी र संघसंस्थाको संख्याभन्दा गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले सहकारीमा संचालक समिति, शेयर सदस्य र व्यवस्थापनको बीचमा आवश्यक समन्वय र सन्तुलन जरुरी हुने बताए । सहकारीमा हाल देखिएका समस्या रातारात जन्मिएका नभइ लामो समयदेखिको अभ्यासले निम्त्याएको जटिलता भएको उल्लेख गर्दै उनले आजैबाट असल अभ्यास सुरु गरिए दिर्घकालसम्म त्यसको प्रभाव रहने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष टिका न्यौपानेले कृषिक्षेत्रमा विचौलियाको अन्त्य गर्न कृषि सामग्री संकलन तथा विक्री केन्द्र सुरु गरिएको बताइन् । हाल पाँच लाख लगानीमा सुरु गरिएको केन्द्रमा आवश्यकता अनुसार लगानी बढाउँदै लैजाने बताइन् । आफ्नो सहकारीका शेयर सदस्यको मात्र नभइ आवश्यकता अनुसार अन्य सहकारीमा आवद्ध कृषकका उत्पादन पनि संकलन गरिने उनको भनाइ छ ।
सहकारीका व्यवस्थापक सरला सुवेदीले कृषकबाट संकलन गरिएका कृषि उपजको मूल्यसूची सबैले देख्ने गरी राखिने र पारदर्शी ढंगले कारोवार गरिने जानकारी दिइन् ।
देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रममा सहकारीका पुर्व संचालक तथा जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो।