देवदह । देवदह क्षेत्रमा क्रियाशील युगीन साहित्य समाजको तेस्रो अधिवेशन गणेश न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । शनिबार देवदह-७ स्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णु विवश पोख्रेल, सचिवमा तिर्थराज भण्डारी, कोषाध्यक्षमा सोभाखर पाण्डेय, सहसचिवमा सुजाता शर्मा र सदस्यहरुमा विष्णु पाठक, नारायण भुसाल, अर्जुन गौतम, आकृति लुइँटेल, बालकृष्ण भट्टराई र केशव न्यौपाने रहेका छन् ।
शृष्टाहरूको विशेष रचनावाचन समेत रहेको कार्यक्रममा साहित्यकार तुल्सी घिमिरे ‘पुष्प’ लाई युगीन साहित्य साधना सम्मान प्रदान गरिएको छ । साथै आगामी वर्षमा संस्थाको कोषमा रहेको रकमबाटै युगीन साहित्य साधना सम्मान प्रदान गर्ने गरी एक लाख ५० हजार राशीको अक्षयकोष समेत घोषणा गरिएको छ ।
कार्यक्रमा लोकप्रिय गजलकार प्रदिप रोदनसहित मुक्तककार डिआर न्यौपाने ‘सुर्य’, कवयित्री सन्ध्या भण्डारी, कवि छवि ज्ञवाली र कवि नारायण प्रसाद भण्डारीले २८ वटा रचनावाचन गरेका थिए । सो अवसरमा संस्थाका ३६ जना सदस्यलाई आजीवन सदस्यताको प्रामण प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै देवदह नगरपालिका नगर प्रवक्ता गणेश डुम्रेले भाषा, कला र साहित्यको विकास र प्रवर्धनमा नगरपालिकाले काम गरिरहेको बताए । साहित्य सभ्य समाजको आत्मा भएको उल्लेख गर्दै प्रवक्ता डुम्रेले देवदहमा क्रियाशील श्रष्टाहरुले विचार र सृजनाको आत्मालाई बचाइरहेको विचार व्यक्त गरे ।
अधिवेशनको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष सुशील सापकोटाको अध्यक्षता, उपाध्यक्ष गणेश न्यौपानेको स्वागत र सचिव विष्णु विवश पोख्रेलको संचालन रहेको थियो ।