'छाेराको कोरिया उडानको मिति पर्खेर बसेका बावु शव लिन काठमाडौं जानुपर्‍यो'

२ वर्ष अगाडि

धनगढी । अछामको चौरपाटी गाउँपालिका–१ का झंकर शाह काठमाडौंमा डेरामा बसेर पढ्दै थिए । दुई वर्षपछि भाइ नाता पर्ने चौरपाटीकै वीरेन्द्र शाह कोरियाली भाषा सिक्ने उद्देश्यले उनीसँग बस्न काठमाडौं आए ।

कोरियाली भाषा सिकिरहेका उनले पानी जहाज बनाउने कामका लागि भाषा दिएको भाषा परीक्षामा नाम निस्केको थिएन । भाषा परीक्षा पास नहुने धेरै साथीहरु कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को ग्वार्कोस्थित कार्यालयमा जाने भएपछि वीरेन्द्र पनि त्यसतर्फ गए ।

झंकरले परिवारलाई बताएअनुसार उनले आन्दोलनमा नजान भन्दा वीरेन्द्रले मानेका थिएनन् । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्र गम्भीर घाइते भए । उनको उपचारका क्रममा पाटन अस्पतालमा शुक्रबार नै मृत्यु भयो ।

वीरेन्द्रको मृत्युको खबर पाएपछि बुवा टेकबहादुर शाह शुक्रबार नै अछामबाट काठमाडौंतर्फ गएका छन् ।

दशैं र तिहार मनाउन अछाम आएका वीरेन्द्रले बुबा टेकबहादुरलाई आफू कोरिया जाने बेलामा काठमाडौंमा बिदाइ गर्न आउनुपर्ने बताएका थिए । दुःखद कुरा छोराको कोरिया उडानको मिति पर्खेर बसेका टेकबहादुर वीरेन्द्रको शव लिन काठमाडौं जानुपर्‍यो ।

‘दशैं सकेर काठमाडौं फर्किने बेला म कोरिया जाने दिन उडाउन आउनुहोला, फोन गरौंला भनेको रहेछ’, टेकबहादुरसँगै रहेका उनका काका बमबहादुर शाहले भने, ‘तर दुर्भाग्य नातीको शव बुझ्न जानुपर्‍यो ।’

स्थानीय सिउडी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका बमबहादुर नातीको शव बुझ्न टेकबहादुरलाई लिएर काठमाडौँ गइरहेका छन् । अछामबाट रातभरको यात्रा पूरा गरेर धनगढी पुगेका उनीहरु धनगढीबाट विमानमा काठमाडौं गएका छन् ।

छोराको मृत्युको खबरले भावविह्ल भएका टेकबहादुर भने बोल्न सक्ने अवस्थामा छैनन् । उनी छोरा सम्झिदै घरिघरि मुर्छा पर्छन् । सानै उमेरदेखि भारतमा चौकीदारी गरेका टेकबहादुर प्यारालाइसिसले एउटा हात नचल्ने भएपछि केही महिनाअघि मात्र अछाम फर्किएका थिए ।

टेकबहादुरका जेठा छोरा पनि परिवारसहित लामो समयदेखि भारतमै छन् । त्यसैले बाबुआमाको भरोसा वीरेन्द्रप्रति थियो र उनीहरु वीरेन्द्रको कोरिया उडानको प्रतीक्षामा थिए ।

चौरपाटीकै सिउडी माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेल्धुराबाट कृषि प्राविधिक (जेटीए) उतीर्ण गरेका थिए । कमजोर आर्थिक अवस्था र स्वदेशमा रोजगारी नपाउने अवस्था देखेपछि काठमाडौं गएर कोरियाली भाषा सिकिरहेका थिए ।

धनगढीमा व्यवसाय गर्दै आएका नातामा उनका हजुरबुवा पर्ने पुष्प शाह वीरेन्द्र अन्तिम पटक आफ्नो पसलमा बसेर काठमाडौं फर्किएको सम्झना गर्छन् । मिलनसार स्वभावका वीरेन्द्रले बाजे पुष्पलाई कोरिया भाषाको परीक्षा दिन लागेको र चाँडै कोरिया उड्ने सुनाएका थिए ।

-कैलालीबाट पत्रकार जनक विष्ठकाे सहयाेगमा  तयार पारिएकाे)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने