'इजरायलमा रहेका बाँकी नेपालीलाई पनि छिट्टै ल्याइने; विमानस्थलमा हर्षका आँसु (फोटोफिचर)'

२ वर्ष अगाडि

इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै उनीहरुलाई पर्खिएर बसेका आफन्तसँग अङ्कमाल गर्दा सबैका आँखामा हर्षको आँसु देखिन्थ्यो  ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरुले त्यहाँको कहालीलाग्दो क्षण अझै बिर्सिएका छैनन् । आफूहरु भाग्यले बाँचेको उनीहरुले बताए । स्वदेश फर्कनेमध्ये एक विद्यार्थी शोभा पासवानले भन्नुभयो, ‘बम र बङ्करबाट फुत्कन पाएको र आफ्नै देशमा भित्रिएकोमा खुसी लागेको छ, तर गुमाएका साथीको याद सधैँभरी हुनेभयो ।’

पहिलो चरणमा नेपाल फर्किएकाहरुमध्ये त्रिभुवन विश्वविद्यालयका ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना गरी एक सय ३२ जना विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति अम्मरराज जोशीले आफ्नो विश्वविद्यालयबाट इजरायल गएकामध्ये एक जना घाइतेसहित ३५ जना विद्यार्थी फर्किएको जानकारी दिनुभयो । इजरायलमा १० जना विद्यार्थी गुमाउनु परेको र एक जना सम्पर्कविहीन भएको घटनाले ठूलो आघात पुगेको भए पनि अन्य विद्यार्थीको सकुशल उद्धार भएकोमा निक्कै खुसी लागेको जोशीले बताउनुभयो ।

आफ्नो नगरपालिकाका विद्यार्थीलाई लिन कञ्चपुरको कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा पनि बिहानै विमानस्थल पुग्नुभएको थियो । इजरायलबाट विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उहाँ आगमन कक्षमा पर्खिरहनुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालय टीकापुरबाट इजरायल पुगेका आफ्नो पालिकाका  तीनजनामा पदम धामी, रमेशबहादुर कार्की र नितिन भण्डारीजना विद्यार्थीसहितको टोलीलाई उहाँले स्वागत गर्नुभयो ।

 इजरायल पुगेको एक महिना नबित्दै घटना भएपछि आत्तिएका उनीहरू सरकारको पहलमा आज नेपाल आइपुगेपछि निक्कै हर्षित छन् । उनीहरुलाई आज आफूसँगै राखेर भोलि दिउँसो कञ्चनपुर फर्किने तयारी भइरहेको मेयर ओझाले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय पोष्टग्राजुयट कार्यक्रम संयोजक प्रोफेसर डाक्टर कृष्ण काफ्लेले आफ्नो विश्वविद्यालयका इजरायल गएका ९७ जना विद्यार्थी पनि फर्किएको जानकारी दिनुभयो । राम्रो उद्देश्यले विद्यार्थीलाई त्यसतर्फ पठाए पनि भवितव्य आइलागेको र अबका दिनमा रोजगारी र शिक्षामा देखिएका समस्याहरुको दिगो समाधानका लागि देशमै व्यवस्था मिलाउनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यो घटनाले विद्यार्थी फेरि इजरायल पठाउनेबारे सोच्नुपर्ने र यसबारे विश्वविद्यालयले पनि समिक्षा गर्ने उहाँको भनाइ छ ।

नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट उनीहरुलाई आज बिहान काठमाण्डौ ल्याइएको हो । परराष्ट्रमन्त्री एनपी साउद आफैँ हिजो इजरायल जानुभएको थियो । काठमाण्डौ ओर्लिएपछि परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताउनुभयो ।

मन्त्री साउदले इजरायलमा रहेका २ सय ६५ जना नेपाली विद्यार्थी र विभिन्न क्षेत्र र पेसामा कार्यरत झण्डै ४ हजार ५ सयमध्ये केही नेपाली द्वन्द्वको प्रत्यक्ष प्रभावमा परेको बताउनुभयो । त्यसमध्ये पहिलो चरणमा २ सय ५४ जनालाई नेपाल फर्काउन सफल भएको उहाँको भनाइ छ ।

मन्त्री साउदले ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको, ४ जना घाइते भएकोमा एक जनाको उपचारपछि नेपाल ल्याएको, एक जना अस्पतालबाट डिस्चार्ज भएको र दुई जना अस्पतालमा नै उपचाररत रहेको पनि जानकारी दिनुभयो ।

सम्पर्कविहीन विपीन जोशीको पनि खोजी कार्य भइरहेको र सरकारले आवश्यक समन्वयमा काम गरिरहेको मन्त्री साउदले जानकारी दिनुभयो । नेपाली दूतावासले सुरक्षित ठाउँमा जान र नेपाल फर्कन चाहनेलाई अनलाइनमार्फत् आफ्नो विवरण उपलब्ध गराउन भनेको थियो । त्यसपछि ५ सय ५७ जनाले विवरण उपलब्ध गराएको र ५ सय ३ जनाले नेपाल फर्कन अनुरोध गरेका छन् । बाँकी रहेकालाई पनि छिट्टै नेपाल ल्याउन पहल भइरहेको सरकारले जनाएको छ ।

त्यसैगरी ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको शव नेपाल ल्याउनका लागि इजरायली सरकारसँग समन्वय भइरहेको र शव ल्याउन केही ढिलाइ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै आवश्यक प्रक्रिया पूरा गरी शव हस्तान्तरण गर्न केही समय लाग्ने इजरायली सरकारले जानकारी गराएकाले परिवारजनलाई केही समय धैर्यधारण गर्न पनि मन्त्री साउदले आग्रह गर्नुभएको छ ।

– रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने