काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज क. प्रचण्ड बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष दाहालसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको छ ।
‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब निस्शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले चुनावी नारा बनाउने बुझिएको छ ।
निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ, भन्ने घिसिङको प्रतिक्रिया समाचारमा आए संगै सो पोस्टर हटेको हो ।
https://www.facebook.com/prachanda.nepal