काठमाडौं । नेपाली राष्ट्रिय कृकेट टिमका पुर्व कप्तान तथा कृकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।
यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए ।
न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममिति सम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।
जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् ।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१/३/१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ ।
अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ ।