देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले दुई दशकभन्दा लामो शैक्षिक यात्रा तय गर्दै २४ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । सानो संरचना र सीमित विद्यार्थीबाट सुरु भएको विद्यालय आज नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार एक सय विद्यार्थीको अध्ययन हुने शैक्षिक संस्थाका रुपमा विस्तार भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकालेर शैक्षिक र सामाजिक उत्सवका रुपमा मनाउने तयारी गरिएको बताए । उनले भने, ‘हामीले वार्षिकोत्सवलाई विद्यार्थीको प्रतिभा प्रदर्शन, अभिभावकको सहभागिता र समुदायसँगको सहकार्यको अवसरका रुपमा लिएका छौं । विद्यालयको समग्र विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुन्छ ।’
यसैक्रममा माघ २७, २८, २९ र फाल्गुन १ गते खेलकुद सप्ताह सञ्चालन गरिएको छ । कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई तहगत रुपमा विभाजन गरी प्रतियोगिता गराइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुभकान्त न्यौपानेले खेलकुदले विद्यार्थीको आत्मविश्वास र सहकार्य भावना बढाउने बताए । उनले भने, ‘पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता आवश्यक छ । यसले विद्यार्थीलाई बहुआयामिक रुपमा विकास गर्न सहयोग पुर्याउँछ ।’
फाल्गुन ४ गते १२ औँ जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने भएको छ । रुपन्देही जिल्लाका ९० वटा विद्यालयमा पत्राचार गरिएको प्रतियोगितामा प्रथम रु १०,०००, द्वितीय रु ७,५००, तृतीय रु ५,००० र सान्त्वना रु २,५०० नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । छनोटमा परेका विद्यार्थीलाई यातायात खर्च रु १,००० उपलब्ध गराइनेछ भने सहभागी सबैलाई प्रमाणपत्र दिइने व्यवस्था गरिएको छ ।
देवदह बुद्ध पब्लिकले हरेक वर्ष जिल्ला स्तरीय हाजिरीजवाफ गर्दै आएको छ । जसलाई विद्यालयले ज्ञानको प्रतिष्पर्धा भनेको छ ।
प्रिन्सिपल गैरेले जिल्लास्तरीय प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमताको विकासमा सहयोग पुग्ने बताए । उनले भने, ‘हामीले निरन्तर रुपमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाएको छ ।’
फाल्गुन ७ गते फुड फेस्टिवल, स्वास्थ्य शिविर तथा अभिभावक खेलकुद कार्यक्रम आयोजना गरिने भएको छ । चार सदनले फरक–फरक समुदायका पोशाक र परिकार प्रस्तुत गर्नेछन् । +२ तर्फका तीन स्टलसहित जम्मा ७ वटा स्टल रहने जनाइएको छ ।
अध्यक्ष न्यौपानेले विद्यालय र अभिभावकबीच सम्बन्ध सुदृढ बनाउन यस्तो कार्यक्रम उपयोगी हुने बताए । उनले भने, ‘विद्यालय शिक्षाको केन्द्र मात्र होइन, समुदायसँग जोडिने साझा स्थल पनि हो । अभिभावकको सक्रिय सहभागिताले विद्यालयलाई थप बलियो बनाउँछ ।’
वार्षिकोत्सव दुई चरणमा सञ्चालन हुनेछ । फाल्गुन ८ गते कक्षा नर्सरीदेखि ४ सम्म र फाल्गुन ९ गते कक्षा ५ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन् । कक्षागत नृत्य, भेषभूषा तथा पेशागत भेषभूषा प्रदर्शनी, विज्ञान प्रदर्शनी, नाटक, विद्यार्थी गायन, कर्मचारी सम्मान र विद्यार्थी सम्मान कार्यक्रमको मुख्य आकर्षण रहनेछन् ।
वार्षिकोत्सवको मूल समारोहमा कक्षा ८, एसइई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी, उत्कृष्ट शिक्षक-कर्मचारी सबैलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको प्रिन्सिपल गैरेले जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रम गर्न १२ लाख लागत लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ ।
यसैबीच देवदह बुद्ध पब्लिककै व्यवस्थापनमा संचालित बुद्ध पब्लिक मन्टेश्वरीको पनि शनिवार वार्षिकोत्सव समारोह आयोजना गरिएको जनाइएको छ ।