देवदह। रुपन्देहीको देवदह ७, मदनग्राम टोलमा बसोबास गर्दै आएका तिलावति क्षेत्रीको लागि युवाहरु घर निर्माण अभियानमा जुटेका छन् । स्थानीय युवाहरुको सक्रियतामा क्षेत्रीको घर निर्माण कार्य सुरुवात भएको हो ।
घर निर्माण अभियानको सुरुवात गर्दै देवदह नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले वडा कार्यालयले घर निर्माणका लागि सहयोग गर्ने र स्थानीयलाई समेत आर्थिक अथवा श्रमदान गरेर समेत अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
आर्थिक रुपमा विपन्न त्यस माथि घर समेत केहिदिन अगाडी परेको हावाहुरी सहित आएको पानीले भत्काए पछि युवाहरुले भुजेललाई घर बनाउने अभियानमा जुटेको स्थानिय युवा व्यवसायी ध्रुव खरेले बताउनुभयो।
बाबुआमा गुमाएका १६ वर्षीय नाति संग बस्दै आउनुभएको, आर्थिक उपार्जनको स्रोत समेत नभएको सानो छाप्रो बनाएर गुजारा गरी रहेका परिवारको दुखलाई केही हदसम्म भएपनि मलमपट्टी लगाउन सकिन्छ कि भन्ने उद्देश्यले युवाहरु उहाँको घर बनाउने अभियानमा जुटेको स्थनीय युवा तथा देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति अर्जुन गैरेले जानकारी दिनुभयो।
घर बनाउने अभियानमा वडा नम्बर ७ का समाजसेवी तिल बिक्रम बुढाथोकीले २० बोरा सिमेन्ट बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
त्यस्तै स्थानीय स्तर सङ्गै देश तथा विदेशबाट समेत अभियानमा जोडिएर सहयोग गर्न युवा व्यवसायी ध्रुव खरेलले आग्रह गर्नुभयो।