प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेका छन् ।
चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताए ।
थपलियाले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मंसिर १ गते साँझ सम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट पारे ।
बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइएकाले निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको बताए । उनले निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारको भएको बताए ।
उनले भने, ‘हामी सबैले आफ्नो इमानदारिता कायम गरौँ । निर्वाचन आचारसंहिताको कहीँकतै उल्लघंन नहोस्, उल्लघंनका समाचार बाहिर आउन । नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस् । पत्रकारले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस् । सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।’
प्रमुख आयुक्त थपलियाले मतदानका दिन र मतगणना कार्यको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक र मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिए ।