'आज अपराह्न ५ः११ देखि खग्रास चन्द्रग्रहण: कुन राशीलाई राम्रो, ग्रहणको बेला के–के गर्नु हुँदैन ?'

४ वर्ष अगाडि

कार्तिक शुक्ल पूर्णिमामा मंगलवार अर्थात आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

मंगलवार बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले मंगलवारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गमा’मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ ।

नेपालबाट ग्रहण १ घण्टा २३ मिनेट देखिने छ । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतम बताउँछन् । ग्रहणको सुतक बार्नेले मंगलवार बिहान ०८ः११ बजेदेखि भोजन गरेका छैनन् । शास्त्रीय रूपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
मंगलवारको ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुंगेलले जानकारी दिए ।

ग्रहणमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा ४ प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा ३ प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

कात्तिक महिनाको कृष्ण पक्षको औंसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । मंगलवार शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ । औंसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी