काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि निशुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आज देखि नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो । टेलिकमले आफूसँग यथेष्ट सङ्ख्यामा इ–सिमको मौज्दात रहेको पनि जनाएको छ । इ सिममा अहिले हामीले प्रयोग गरिरहेको जस्तो भौतीक सिमकार्ड हुदैन । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ । आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने वा नचल्ने एकिन गरेर मात्र इ–सिमका लागि आवेदन दिन टेलिकमले आग्रह गरेको छ । ई सिम चल्ने या नचल्ने भनेर पत्ता लगाउन आफ्नो मोबाइलबाट ८३०६३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । यसरी डायल गर्दा इआइडी लेखिएको सङ्केत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाएको छ । भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि टेलिकमले निःशुल्क इ–सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइ रहेको र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।